नाकाबन्दीले आँखा पनि खोल्योः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वीरहरुको भूमी नेपाल आत्मानिर्भर हुँदै गएको बताएका छन्। भारतीय नाकाबन्दीले आशा गर्ने प्रवृती हट्दै गएको र आत्मनिर्भरताको भावना विकास हुन थालेको ओलीले बताए।
१६ औँ राष्ट्रिय विभूती तथा किराँत धर्मका महागुरू फाल्गुनन्द लिङदेनको १३१ औँ जन्मजयन्तीको अवसरमा बुधबार पाँचथरको रविमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मागेर खाने प्रवृतिले राष्ट्रवादी नहुने समेत बताए।
उनले भारतप्रति लक्षित गर्दै वीरहरुको भूमीलाई पोल्टामा पार्न नसक्ने समेत दावी गरे। फाल्गुनन्द जन्मजयन्तीको दिन सार्वजनिक विदा समेत घोषणा गरेका प्रधानमन्त्री ओलीले संविधानप्रति असहमति जनाउँदै भारतले गरेको नाकावन्दी खुलाउने विषयमा कुटनीतिक तहबाटै पहल भइरहेकाले चाँडै समस्या समाधान हुने जिकिर गरे।
नाकावन्दीले दुःख मात्रै नभई आँखा पनि खोलिदिएको ओलीको भनाई छ। ‘हाम्रा आँखा खुलेका छन्’, उनले भने, ‘अब समृद्धिको बाटोमा लम्किनुपर्छ।’
फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले दुई वर्षभित्रमा देश लोडसेडिङ मुक्त हुने दाबी गरे। संविधानसभाको दोस्रो निर्वाचनमा किराँत धर्मगुरू आत्मानन्द लिङदेनबाट आर्शिवाद लिएका ओलीले फाल्गुनन्दको तपोभूमी पाँचथरको लब्रेकुटी, सिलौटी र लारूम्बाको विकासका लागि गुरुयोजना निर्माण गरिने पनि बताएका छन्।
पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले जनताको चाहना अनुसारकै संविधान जारी भएको भन्दै मन कुँड्याउने ठाउँ नरहेको बताए। क्षेत्रिय राजनीति गर्ने दलहरूले उत्पात मच्चाएको उनको धारणा छ। उनले दमक–चिसापानी–रवि सडकखण्ड र राँके–रवि–भेडेटार सडकखण्डको काम द्रुत गतिमा हुने आश्वासन समेत दिए।
ओलीसँगै पूर्वसभामुख सुवास नेम्वाङ, कानुन तथा न्याय मन्त्री अग्नि खरेल र प्रधान सेनपाति राजेन्द्र क्षेत्री आज बिहान  पाथिभरा पुगेका थिए।
पाथिभरा देवी हिन्दु र किरात धर्माबलम्बीको साझा मन्दिर मानिन्छ। यो समुन्द्री सतहबाट १२ हजार ४ सय ४८ फिट उचाईमा रहेको प्राचिन र प्रसिद्ध शक्तिपीठ मानिन्छ।
ओली र नेम्वाङ दुवैजना किरात धर्मगुरु फाल्गुणानन्दका अनुयायी मानिन्छन्। फाल्गुणानन्दका चेला आत्मानन्द लिङदेनको आशिर्वाद लिएर ओली र नेम्वाङ गत संविधानसभा निर्वाचनमा होमिएका थिए।
झापा क्षेत्र नम्बर ७ र इलाम क्षेत्र नम्बर २ मा किरात धर्म गुरुका अनुयायीहरुको संगठित समूह छ। गुरुको इशारामा उनीहरुले मतदान गर्छन्। झापा ७ बाट ओली बिजय भएका छन् भने इलाम २ बाट नेम्वाङ बिजयी भएका हुन्।


,

0 comments

Write Down Your Responses