बम राखिएकोले विमान आकासमै पड्किएको अनुमान

वासिङटन : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले हालै इजिप्टमा दुर्घटनाग्रस्त भएको रसियाली विमानमा बम राखेको हुनसक्ने अनुमान गरिएको बताएका छन्।
 उनले भने, मलाई लाग्छ सो विमानमा बम राखेको हुनसक्छ र जसका कारण मात्र त्यसरी आकासमै बिस्फोट भएको हुनुपर्छ । अमेरिकाको एक रेडियोसँग उहाँले गर्नुभएको कुराकानीलाई उद्धृतगर्दै अमेरिकी टेलिभिजन सिएनएनले जनाएअनुसार राष्ट्रपति ओबामाले त्यहाँ बम राखेको अनुमान गरी सो घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन्।


हाम्रो गुप्तचर संस्थाका साथै अन्य अनुसन्धान गर्ने निकायले अनुसन्धान जारी राखेको र त्यस घटनाको सत्यतथ्य कुरा छिट्टै बाहिर आउने उनले जानकारी दिए ।
राष्ट्रपति ओबामाले भने, हामीले आफ्नो तर्फबाट अनुसन्धान जारी राखेका छौँ र सो सत्य बाहिर आउनु अगावै अहिले नै ग्यारेन्टी नगरेको मात्र हो तर सो जहाजमा बम राखेको अनुमान धेरै हदसम्म सत्य हो ।
 ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेटले केही दिनमात्र अघि पनि सो विमानमा बम राखिएको हुनसक्छ भन्ने अनुमानको विरोध अहिले नै गर्न नसकिने बताएका थिए। तर उनले यस विषयको अमेरिकी अनुसन्धान पूरा भने भइनसकेको पनि सो भनाईमा स्पष्ट गरेका थिए।

यस विषयमा अमेरिकाले पनि स्वतन्त्र रुपमा अनुसन्धान जारी राखेको समाचारको राष्ट्रपति ओबामाले नै पुष्टि गरेका छन्।उनले अमेरिकाले अनुसन्धान जारी राखेकोले केही दिनमै के कति कारणले सो विमान दुर्घटनामा परेकोे हो भन्ने तथ्य बाहिर आउने धारणा राखेका थिए।

गत हप्तामात्र इजिप्टको सिनाइमा भएको विमान दुर्घटनामा परी २२४ जना नागरिकको ज्यान गएको थियो । सो विमान रसियाली विमान थियो ।
मारिनेमा लगभग सबैजसो नै रसियाली नागरिक रहेका थिए । सिनाइ इजिप्टको द्धन्द्धग्रस्त क्षेत्र हो । त्यहाँ विद्रोहीहरुको प्रभाव रहेको मानिन्छ । सो विमान खसेपछि नै मुस्लिम अतिवादी संस्था आइएसले नै त्यसको जिम्मेवारी लिएको थियो ।

उक्त संस्थाले सो विमान खसालेको भनी दाबी नै गरेको थियो । तर उसको सो दाबीलाई इजिप्ट सरकारले भने अस्वीकार गरेको छ ।
इजिप्ट सरकारले उक्त भनाईमा कुनै सत्यता नरहेको बताएको छ । बम हानेर विमान खसाल्ने भन्ने कुरा असम्भव रहेको इजिप्ट सरकारको भनाई छ।

यसैबीच बेलायती अनुसन्धानकर्ताहरुले पनि उक्त विमानमा बम राखिएको हुनसक्ने अनुमान गरेको बीबीसीले जनाएको छ। रासस/ एजेन्सीहरु



0 comments

Write Down Your Responses