फ्रान्सका राष्ट्रपतिले ओलीलाई टेलिफोनबाटै भने-हामी मिलेर काम गरौं नेपालको आर्थिक प्रगतिमा सघाउन फ्रान्स तयार छःराष्ट्रपति अलन्द

२४ कात्तिक, काठमाडौं । फ्रान्सले नेपालको आर्थिक उन्नतिका लागि मिलेर काम गर्न र नेपाल सरकारलाई सघाउन तयार रहेको जनाएको छ । फ्रान्सका राष्ट्रपति फ्रान्सिस अलन्दले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन मार्फत यस्तो सन्देश दिएका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार फ्रान्सेली राष्ट्रपतिले सोमवार अपरान्ह ओलीलाई आफैं टेलिफोन गरेका थिए ।


टेलिफोन वार्ताका क्रममा उनले नेपालमा हालै गएको बिनाशकारी भूकम्पको स्मरण गर्दै नेपालको उन्नति प्रगतिका लागि सघाउन फ्रान्स नेपालसँगै मिलेर काम गर्न तयार रहेको बताएका थिए । ‘भाषिक समस्याले टेलिफोन वार्ता केही लम्बियो,फ्रान्सका राष्ट्रपति राम्रोसँग अंग्रेजी बोल्न नजान्ने र हाम्रो प्रधानमन्त्री फ्रेन्च भाषा नजान्ने भएकाले समस्या भयो’ प्रधानमन्त्रीका एक निकट सहयोगीले भने ।
सो टेलिफोन वार्ताका क्रममा फ्रान्सका राष्ट्रपतिले आफू नेपालको प्राकृकि सौन्दर्यको बारेमा सुनेर मोहित भएको बताएका थिए । नेपाल र फ्रान्सबीचको सम्बन्ध पूरानो भए पनि दुई देशका सरकार प्रमुखको भ्रमण भने जंगवहादुर राणापछि हुन सकेको छैन । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेला फ्रान्सले औपचारिक निम्ता दिएर भ्रमण तय भए पनि त्यहि बेला कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले भट्टराईलाई प्रधानमन्त्रीबाट राजिनामा गर्न बाध्य पारेपछि भ्रमण रद्द भएको थियो ।
त्यसबेला भट्टराईले फ्रान्सको भ्रमण गरेर फर्केपछि राजिनामा दिन्छु भन्दा पनि कांग्रेस पार्टीले मानेको थिएन


, ,

0 comments

Write Down Your Responses