सरकार लचक भए मधेश समस्या समाधान हुन्छ: काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल

नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सरकारलाई मधेसका मागप्रति उदार हुन र मधेसवादी दललाई संसद् र सीमा अवरोध नगरी संविधान संशोधनका प्रक्रियालाई अगाडि बढाउन आग्रह गरेका छन्। 

प्रेस युनियन चितवनले मंगलबा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार उदारताका साथ अघि बढ्नासाथ मधेसको आन्दोलन टुङ्गिने बताए। 

सरकारको वार्ता टोलीमा नबसे पनि नेपाली काँग्रेसले सहजकर्ताका रूपमा रहेर भूमिका निर्वाह गर्ने उनले बताए। 

आज काठमाडौँ फर्किएलगत्तै मधेसवादी दलसँग आफूले छलफल अगाडि बढाउने भन्दै उनले नाका अवरुद्ध गर्दा आमनेपाली र यहाँको अर्थतन्त्र प्रभावित भएकाले यो कार्य रोक्न आग्रह गरिने बताए। 

मधेसको माग सम्बोधन गर्न आफूहरू लागिपरेको भन्दै सीमा अवरोध गरेर समस्याको समाधान नहुने उनले दोहोर्‍याए। 

प्रस्तावसमेत संसदमा दर्ता गराइसकेको भन्दै उनले भने, “तपार्इंहरूको माग संविधानले दिएको छ, प्रष्ट पार्न हामीले संशोधन प्रस्ताव दर्ता गराइसकेका छौँ ।” 

एक मधेस एक प्रदेश र जातीय राज्य नस्वीकार्ने भन्दै उनले अन्य मधेसका मागको पक्षमा काँग्रेस पनि रहेको स्पष्ट पारे। 

नेपाली काँग्रेसले व्यापार पारवहनलाई आन्तरिक राजनीतिसँग जोड्न नहुने बताउँदै आएको भन्दै उनले हाम्रो पारवहन सुविधा पाउनुपर्छ, कहीँ पनि कसैले रोक्न नपाउने बताए। 

नाकाबन्दीका कारण उद्योग, व्यापार, कलकारखाना, निर्माणसमेत ठप्प रहेको भन्दै यसको पार्टीले समेत गम्भीर ध्यानाकर्षण गराइसकेको उनले बताए। 

आन्तरिक कारणलाई देखाएर भारतले पारवहन अधिकार उल्लङ्घन गर्न नपाउने पौडेलको भनाइ छ । हाम्रो आन्तरिक कुरा हामी मिलाउँछौँ भन्दै उनले त्यसैलाई देखाएर भारतले आपूर्ति असहज बनाउन नहुने बताए। 

अर्काे एक प्रसङ्गमा नेपाली काँग्रेसको महाधिवेशन अब भने नसर्ने पौडेलले बताए। पत्रकारहरूले अबको काँग्रेस सभापतिको उम्मेदवार तपाईं हो भन्ने प्रश्नमा उनले भने– “सबै साथीहरूले उठ्नुपर्छ भनिरहेका छन् । सबैसँग छलफल गरेर औपचारिक घोषणा गर्छु ।” 

त्यस्तै कार्यबाहक सभापति पौडेलले पूर्ववर्ती सरकारले गरेका निर्णय वर्तमान सरकारले उल्टाउँदै गए सहयोग गर्न नसकिने बताए। रासस 


0 comments

Write Down Your Responses