‘नाका सहज हुने समाचार हल्ला र अनुमानमात्र ’- भारतीय राजदुत रञ्जित रे


काठमाडौँ, २४ कात्तिक । नेपालका लागि भारतीय राजदुत रञ्जित रे ले नेपालको मन्त्री परिषदले पास गरेको विषेश प्रस्तावको विषयमा औपचारिक रुपमा आफूलाई प्राप्त नभएको भन्दै प्राप्त भए त्यसलाई गंभिरताका अगाडि बढाउने बताए  । 
राजधानीमा आयोजीत साक्षात्कारमा उनले भने,‘सरकारले विशेष प्रस्ताव पास गरेको कुरा मैले पनि पत्रपत्रिकाबाट थाहाँ पाए । सरकारको प्रस्ताव मैले औपचारिक रुपमा पाएको छैन । दिपकुमार उपाध्यायजीले  पाएर दिल्लीमा अगाडि बढाएको भए मलाई जानकारी छैन । मलाई औपचारिक रुपमा सरकारले दिए त्यसलाई गंभिरताका साथ अगाडि बढाउँछु ।’
साक्षात्कारमा राजदुत रेले एकदुई दिनमा नेपाल भारत नाका सहज हुने भनि आएको समाचारलाई हल्ला र अनुमान भन्दै वीरगञ्ज नाका सहज नभईकन नेपालमा आपूर्ति सहज नहुने स्पष्ट पारे । 
उनले भने,‘ नेपालमा धेरै हल्ला र अनुमान चल्छ । नेपालमा ७० प्रतिसत आपूर्ति वीरगञ्ज नाकाबाट हुन्छ । अरु बाँकी नाकाबाट जति आपूर्ति गरे पनि यहाँको अवस्था सहज हुँदैन । अरु नाकाबाट रि रुट गरेर पठाउने प्रयास भईरहेको छ । नेपाललाई तेल दिने मेन डिपो रक्सौलमा भएकोले अरु नाका सहज भए पनि आपूर्ति सहज हुँदैन ।’
उनले सत्य भए पनि झुठो भए पनि नेपालमा समाधान गर्नु पर्ने केही मुद्दाहरु रहेकोले त्यसलाई बार्ता र संबादको बाटोबाट छिटो हल गर्नु पर्ने भन्दै अहिलेको समस्या लामो समयसम्म जान नहुने धारणा राखे । 
राजदुत रेले जेनेभा मानवअधिकार सम्मेलनमा भारतले मानवअधिकारको विश्वब्यापी मान्यता अनुरुपको नेपालको सत्य निरुपण तथा मेलमिलाप आयोगको कुरा उठाईएको भन्दै यसलाई नेपाल भारत सम्बन्धको नयाँ प्रस्थान विन्दुको रुपमा बुझ्न नहुने तर्क गरे । 

उनले भने,‘ भारतले सधै नेपालको शान्ति प्रक्रियालाई सघाउँदै आएको छ । त्यसैले यो सबैले स्विकारेको संविधानबाट टुङगियोस भन्ने चाहन्छौ ।’
राजदुत रेले थपे,‘ नयाँ संविधानबाट नेपाली जनताले सबै अपेक्षा पुरा हुने धारणा बनाएका थिए । भारतको पनि त्यही अपेक्षा थियो । संविधान जारी भएपछि पुरै नेपालमा खुसीयाली होस भारतले सधै यही कुरा उठाउँदै आएको थियो । संविधान आउनु भन्दा पहिला देखिकै केही कठिनाईहरु आउने संकेत थियो । त्यो कुरालाई सुनिएन ।’
उनले नेपालमा अहिले देखिएको समस्या संबाद र छलफलबाट टुङग्याउनुको विकल्प नभएको भन्दै प्रजातन्त्रमा जनताको कुरा सुन्नु पर्ने सुझाव दिए । 
उनले नेपालमा पछिल्ला समयमा बढी रहेको भारत विरोधी भावनाले आफूहरुलाई दुखि बनाएको भन्दै कुनै राजनीतिक कारणले नियोजित रुपमा भारत विरोधी भावना भड्काईएको आरोप लगाए । 
राजदुत रेले भने, ‘हामी नेपालको दुस्मन होईन मित्र हौ । हामी नेपालको अहित चाहँदैनौ । नेपालका नोक्सान भए भारतमा पनि असर पर्छ । नेपालमा पीडा भए भारत पनि खुसी हुन सक्दैन । लडाई गरेर दुबै देशको हित हुँदैन । मिलेर जानु पर्छ ।’
उनले थपे,‘ भुकम्पको बेला सहयोग गर्दा पनि ‘गो ब्याक ईण्डियन मिडिया’ भने हामीले केही भनेनौ र अहिले पनि ‘गो ब्याक ईण्डिया’ भनिदैछ । यस्तो भावना बढाएर नेपालको राष्ट्रिय स्वाधिनता बलियो हुँदैन । यो नेपालको हितमा छैन ।’
राजदुत रेले नेपाल भारत सम्बन्धलाई अब नयाँ शिराबाट सोच्नु पर्ने भन्दै यसकोलागि  दुबै देशको हित हुने खालको विकास गर्न बसेर कुराकानी गर्नु पर्ने आवश्यकता औल्याए ।


,

0 comments

Write Down Your Responses