मगर दाहिना भएकाले प्रधानमन्त्री बन्न सफल भएँ: ओली

१ माघ, काठमाडौं । 
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले विभिन्न जाति र समुदायका माग र भावनालाई यथोचित ढङ्गबाट सम्बोधन गर्दै जाने बताएका छन् । मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड माघे सङ्क्रान्तिका अवसरमा टुँडिखेलमा शुक्रबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मगरलगायत मुलुकका सबै जातजातिको सहयोगमा आफू प्रधानमन्त्री बन्न सफल भएको धारणा राखे । उनले भने, मुलुकको उपराष्ट्रपति, सभामुख, मन्त्री र राज्यमन्त्री मगर समुदायका व्यक्ति हुनुहुन्छ, मगर दाहिना भएकाले नै आफू प्रधानमन्त्री बन्न सफल भएको हुँ । केही व्यक्ति आफ्नो पाइलो मेट्न लागे पनि मगर दाइना भएकाले कसैको केही लाग्दैन ।’ माघे सङ्क्रान्ति सम्पूर्ण नेपालीको चाडका रुपमा रहेको बताउँदै उनले नेपाली समुदायले यसलाई आफ्नो संस्कृति, परम्पराअनुसार मनाउँदै आएको बताए ।विकासको धिमा गतिमा मुलुक रहेकामा आफूलाई त्यो स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै उनले भने,  कठिन र अप्ठ्यारो परिस्थितिलाई अन्त्य गर्दै तीव्ररुपमा विकासलाई अघि बढाउन आवश्यक छ ।’ संविधानमा कस्तो हेरफेर गर्ने हो, त्यो नेपाली जनताको नैसर्गिक अधिकार भएको प्रधानमन्त्री ओलीले जनताले इच्छा गरेअनुरुप संविधानमा सुधार र सम्बोधन हुँदै जाने बताए । विज्ञान प्रविधिमन्त्री शिवलाल थापाले मुलुकमा भएको राजनीतिक परिवर्तन र लोकतन्त्र स्थापनाका लागि मगर समुदायबाट भएको योगदानलाई समाजका सबै पक्षले आत्मसात् गर्न आवश्यक रहेको बताए । समारोहमा राज्यमन्त्री नरदेवी पुनमगर, पूर्वमन्त्री बालाराम घर्तीमगर,सांसदद्वय गोकुल घर्तीमगर, अमर पुनमगरलगायतले मगर जातिको उत्थानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रधानमन्त्रीलाई मगर समुदायको पहिरन ‘भाङ्ग्रा’ पहिर्याएर सम्मान गरिएको थियो । साथै मगर समुदायको लोकप्रिय नृत्य कौरा, धिमे नाथको साथै मगर संस्कृति र परम्परा झल्कने विभिन्न गीत सङ्गीत प्रस्तुत गरिएको थियो । शनिबारसम्म चल्ने मगर–माघे सङ्क्रान्ति पर्वमा मगर दोहोरी गीत तथा नृत्य प्रतियोगिता हुने आयोजक नेपाल मगर सङ्घले जनाएको छ । 



0 comments

Write Down Your Responses