३ दल र मधेसी मोर्चा बिच भोलिसम्म सहमति जुट्ने दाबी ।

३ माघ, काठमाडौं । 
पछिल्ला वार्ता र सम्वादहरुमा प्रमुख तीन दल र मधेसी मोर्चा निकै नजिक आइपुगेका छन् । सम्वद्ध स्रोतहरुलाई मान्ने हो भने भोलि सोमबारसम्म सहमति जुट्ने सम्भावना प्रवल छ ।
सहमति जुटाउन सक्रिय तीन दल र मधेसी मोर्चाको कार्यदलको बैठक आज आइतबार पनि बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा मधेसी मोर्चाले तीन दलको पाँचबुँदे प्रस्तावमा आफ्नो धारणा राख्नेछ ।
शनिबार बालुवाटार बैठकले पाँचबुँदे प्रस्ताव तयार पारेको थियो, जसलाई कार्यदलको बैठकमा ‘ननपेपर’का रुपमा रुपमा प्रस्तुत गरिएको छ । आइतबारको बैठकमा मधेसी मोर्चाले पाँचबुँदेमा बुँदागत रुपमा नै आफ्नो धारणा राख्ने तयारी गरेको छ ।
सम्वद्ध स्रोतहरुका अनुसार यदि सहमति नै चाहेको हो भने तीन दल र मधेसी मोर्चाबीच ठूलो दुरी छैन । राजनीतिक संयन्त्रमार्फत तीन महिनाभित्र सीमांकन टुंगो लगाउन मधेसी मोर्चा सहमत भएको छ ।
वार्ताकारहरु यसलाई ब्रेक थ्रु मान्छन् । र, अबको बहस यस्तो संयन्त्रको टीओरआरमा केन्दि्रत छ । यसमा पनि तीन दलले अघि सारेको पाँचमध्ये चारबुँदे प्रस्तावमा भाषा मिलाउने बाहेक ठूलो समस्या देखिएको छैन ।
एउटा बुँदामा भने मधेसी मोर्चा र तीन दलबीच समझदारी हुन बाँकी छ । स्रोतले भन्यो, तराई मधेसमा दुई प्रदेश हुन्छ भन्ने राख्नुपर्छ भन्ने मोर्चाको माग छ । तर, यसमा कांग्रेस र एमाले सहमत छैनन् ।’ प्रधानमन्त्री केपी शर्मा ओली स्वयंम जसरी भए पनि सहमति गर्नुपर्छ भन्नेमा पुगेको भन्दै सहमति हुनेमा उनी आशावादी देखिएका छन् । तीन दलले तराई मधेसमा भइरहेको आन्दोलन र सीमांकनबारे अहिलेसम्म अध्ययन प्रतिवेदनलाई सन्दर्भ सामाग्रीका रुपमा लिने प्रस्ताव गरेका छन् । तर, मधेसी मोर्चाले राज्य पुनःसंरचना आयोग र समितिको प्रतिवेदनलाई आधार मान्नुपर्ने बताएको छ । यसमा मध्यमार्गी प्रस्ताव खोजेर सहमति जुटाउने प्रयास भइररहेको छ र मधेसी मोर्चा पनि अधिकतम लचिलो भएर प्रस्तुत हुने नेताहरुको दाबी छ । तराई मधेसको सीमांकन हेरफेर हुन्छ भन्ने सन्देश दिने भाषा राखे मधेसी मोर्चा सहमतिमा आउन सम्भावना छ । संयन्त्रको टीओआरमा सहमति जुटे अन्य मुद्धामा तीन दल र मधेसी मोर्चाबीच ठूलो अन्तर छैन । मधेसी मोर्चासम्वद्ध स्रोतले भन्यो, वार्ताहरु जब सहमति नजिक पुग्छ, त्यस्तो बेला केही न केही हुन्छ । अग्राख पलाएन भने अब सहमति हुने सम्भावना निकै देखिएको छ ।’



0 comments

Write Down Your Responses