ई–रिक्सा प्रति जनताको आर्कषण बढ्दो


बुटवल, १९ कात्तिक । भारतले गरेको अघोषित नाकाबन्दीका कारण देशभर ईन्धन संकट हुँदा प्रयाप्त सवारी नचलेपछि जनताको आर्कषण ई–रिक्सा प्रति बढ्दै गएको छ ।
नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि बुटवलमा ई–रिक्साको प्रयोग अत्यधिक बढेको छ । विद्युतले ई–रिक्सामा प्रयोग हुने व्याट्री चार्ज गरेर सञ्चालनमा रहेको ई–रिक्सा अहिले बुटवल बजारमा प्रयाप्त मात्रमा चलेको देख्न सकिन्छ । बातावरणमैत्री ई–रिक्सा सञ्चालन हुँदा चालकहरुलाई राम्रो आम्दानी पनि भैरहेको छ ।
बुटवलको मुख्य राजमार्ग तथा भित्रि सडकमा ई–रिक्सा सञ्चालन हुँदा जनता लाभाम्वित बनेका छन् । नगरक्षेत्रभित्र चल्ने रिक्साले प्रतिव्यक्ति २५ रुपैयाँ सम्म लिने गरेका छन् । ईन्धनको अभाव हुँदा कानुनी रुपमा दर्ता प्रक्रियामा रहेका ई – रिक्साहरु अहिले भने निर्वाध रुपमा चलिरहेका छन् ।
दर्ता प्रक्रिया र चालक अनुमति पत्र विना पनि ई–रिक्सा सञ्चालन गरिएको भएपनि अहिले ईन्धन संकटको अवस्थामा यस बारेमा सरोकारवाला निकायहरुले संकटको अवस्थामा ‘गर्जो टारेको’ भाव व्यक्त गरेका छन् । 
यातायात व्यवस्था कार्यालय लुम्बिनीका शाखा अधिकृत बालकृष्ण हुमागाईले ई–रिक्सा सञ्चालन गर्न नदिनुको कारण सहित ई–रिक्सा सञ्चालन समितिले मुद्धा दर्ता गरेकाले अहिले यस बारेमा केही बोल्न नमिल्ने बताए । रिक्सा व्यवसायी समितिले जिल्ला प्रशासन कार्यालय रुपन्देही, पश्चिम नेपाल बस व्यवसायी संघ, यातायात विभाग, भौतिक पुर्वधार तथा यातायात मन्त्रालयलाई विपक्ष बनाएर ई–रिक्सा सञ्चालन गर्न नदिनुको कारण माग गर्दै सर्वोच्चमा मुद्धा राखेको छ । अहिले सो मुद्धा विचाराधिन अवस्थामा रहेको छ ।
शाखा अधिकृत हुमागाईले तेल संकटको अवस्थामा जनताले सुविधा पाएकाले तेल संकट कम भएपछि थप यस बारेमा छलफल गरेर अगाडि बढ्ने बताए ।
दुई वर्ष अगाडि सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा विद्युतीय रिक्सा दुर्घटना हुँदा ४ जनाको ज्यान गएपछि ई–रिक्सा सञ्चालनमा खिचातानी बढ्दै गएको छ । फल स्वरुप पश्चिम नेपाल बस व्यवसायी संघले मुख खोलेरै ई–रिक्सा दर्ता नगर्नु भन्दै यातायात विभागलाई पत्र समेत काटेको थियो ।
लुम्बिनी ई–रिक्सा यातायात व्यवसायी संघका महासचिव प्रेम थापा मगरका अनुसार अहिले ई–रिक्सा संघमा एक सय भन्दी बढी दर्ता भइसकेका छन् । थापाले आफूहरु सबै पक्षसँग छलफल गरेर विस्थापित÷स्थापितको अवधारणामा जान तयार रहेको बताए ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपी प्रकाश अधिकारीले अर्को अञ्चलमा दर्ता भएका ई–रिक्सा पनि यहाँ सञ्चालन भएको बताए । उनले ईन्धन संकट पछि जिल्ला प्रशासन, बुटवल उपमहानगर पालिका, यातायात व्यवस्था कार्यालय र रिक्सा समिति सँग छलफल गरेर व्यवस्थित रुपमा ई–रिक्सा  सञ्चालनका लागि अनुमति दिने बताए ।
उनले कति रिक्सा चल्ने दिने, कुन कुन क्षेत्रमा दिने र कति भाडामा लिने भन्ने बिषयमा छलफल गरिने बताए । ई–रिक्सा लाई रुट ईजाजतको विषयमा प्रशासन सँग छलफल गर्ने समेत उनको भनाई छ ।
ई–रिक्सालाई एकपटक पूरा चार्ज गरिसकेपछि ८० किलोमिटरदेखि १२० किलोमिटरसम्म चलाउन मिल्ने बताइएको छ । पेट्रोल डिजेलको प्रयोग नहुने हुँदा यसले वातावरणमा कुनै असर नगर्ने भएकाले यसलाई वातावरणमैत्री रिक्सा पनि भने गरिएको छ ।


, ,

0 comments

Write Down Your Responses