नयाँ शक्तिमा रामेश्वरदेखि करिश्मा सम्म ।

१० माघ, काठमाडौं । 
एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्तिको प्रारम्भिक रुप सार्वजनिक गर्ने भएका छन् । काठमाडौंमा आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर भट्टराईले नयाँ शक्तिमा औपचारिकरुपमा आबद्ध हुनेहरुलाई परिचय गराउने कार्यक्रम छ । ‘केन्द्रीय समिति वा अन्य कुनै नामको तदर्थ गठन गर्न लागिएको होइन,’ भट्टराई निकट स्रोतले भन्यो, ‘अभियानमा आबद्ध हुनेहरुको परिचयमात्रै गराइनेछ ।’ नयाँ अभियानमा आइतबारदेखि औपचारिकरुपमा केही स्वतन्त्र व्यक्तिहरु पनि आबद्ध भएको घोषणा गर्दैछन् । भट्टराई निकट स्रोतका अनुसार पूर्वसचिव रामेश्वर खनाल, पूर्वसांसद केशवमान शाक्य, पासाङ शेर्पा नयाँ शक्तिमा देखिनेछन् । दलित जनजाति पार्टीकी सांसद यशोदा  लामा पनि नयाँ शक्तिमा आबद्ध हुने तयारी गरेकी छन् । यसैगरी पूर्वमाओवादी नेता एवं विश्लेषक मुमाराम खनाल, पूर्वएआईजी गणेश राई, कलाकार करिश्मा मानन्धर, अशोक शर्मा तथा पूर्वका एनजीओकर्मी केशव दाहाल पनि अभियानमा आबद्ध हुनेछन् ।


0 comments

Write Down Your Responses