२२ माघ,काठ्मान्डौं ।
सिन्धुपाल्चोक र नुवाकोटको सिमानालाई केन्द्रविन्दु बनाएर ५ दशमलब ५ रेक्टर स्केलको परकम्पन गएको छ। धेरै महिनापछि फेरि भूकम्पको ठूलो पराकम्पन महसुस भएको हो । सिन्धुपाल्चोक र नुवाकोटको सिमानालाई केन्द्रविन्दु बनाएर शुक्रवार राति १० बजेर ५ मिनेट जाँदा ५ दशमलब ५ रेक्टर स्केलको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोटसहित पश्चिम नेपालका कास्की, तनहुँ, बागलुङ, स्याङ्जा लगायतका जिल्लाहरुमा महसुस गरिएको छ।
१० माघ,चितवन ।
पृथ्वी राजमार्गको फिस्लिङमा आज बिहान पौने १० बजे तीन सवारीसाधन एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य ३० जना घाइते भएका छन्।
घाइतेमध्ये तीन जना माइक्रोबसमै च्यापिएका यात्रु हुन् । छ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। मृतक अन्दाजी ५० वर्षका पुरुष रहेको र सनाखत हुन नसकेको उनले बताए।
च्यापिएकाहरुको उद्धार गरिएको छ । घाइते सबैको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार काठमाडौँ जाँदै गरेको ना ४ ख ९८७१ नम्बरको ट्रकलाई ना १ ज ५००० नम्बरको सोही दिशातर्फ जाँदै गरेको माइक्रोले उछिन्न खोज्दा मुग्लिनतर्फ आउँदै गरेको लु १ ख ८७२५ नम्बरको बसमा ठक्कर खान पुगेको थियो । उछिन्दै गरेको माइक्रोलाई ट्रकले समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दारेचोक गाउँ विकास समिति वडा नं. ९ फिस्लिङमा भएको सो दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गरेर चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको हो । घटनास्थल मुग्लिनबाट १५ किलोमिटर टाढा पर्छ ।
१० माघ, काठमाडौं ।
वैदेशिक रोजगारबाट दीपक मिजार चार महिनाअघि घर फर्किए । खाडीमा पसिना बगाएर कमाएको पैसा उनले नियमित श्रीमतीलाई पठाउँदै आएका थिए । तर, तीन वर्षपछि फर्किंदा श्रीमती सँगै बस्न मानिनन् । अर्को व्यक्तिसँग प्रेमसम्बन्ध रहेकी श्रीमतीले सम्पत्तिसमेत लगेको भन्दै दीपक उजुरी लिएर प्रहरीमा पुगे ।
ललितपुरका दिनेश शाही पनि श्रीमतीबाट अन्याय भएको भन्दै प्रहरीमा उजुरी लिएर जान बाध्य भए । तीन लाख ५० हजार नगद र साढे दुई तोला सुनसमेत लिएर हिँडेपछि उनी उजुरी लिएर प्रहरीमा पुगे । महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीले श्रीमतीलाई बोलाएर छलफल गरायो र मिलापत्र भयो ।सिनामंगल बस्ने भारतीय नागरिक मुन्ना मालमले श्रीमतीले सधैँ आफूलाई कुटपिट गरेको भन्दै उजुरी दिएका छन् । नरेश शाहीले सम्बन्धविच्छेद भइसकेकी श्रीमती घरमा आएर आफ्नो बच्चालाई सधैँ यातना दिने गरेको भन्दै उजुरी दिएका छन् ।
पुरुषविरुद्धको हिंसाका उजुरी गर्ने प्रवृत्ति बढेसँगै काठमाडौंमा महिलाविरुद्ध पुरुषका उजुरी पनि बढेको छ । हरेक साताजसो एक श्रीमान् श्रीमतीविरुद्ध उजुरी लिएर प्रहरीकोमा पुग्ने गरेका छन् । प्रहरीको काठमाडौं, ललितपुर र भक्तपुरका महिला तथा बालबालिका सेवा केन्द्रमा पनि पुरुषले श्रीमतीविरुद्ध उजुरी गर्न थालेका छन् । अघिल्लो वर्षमा भन्दा पुरुषका उजुरी यस वर्ष बढेको प्रहरीले जनाएको छ ।
महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीकी प्रमुख प्रहरी निरीक्षक पूर्णिमा चन्दका अनुसार साउनदेखि पुससम्म २३ जना पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै उजुरी गरेका छन् । ‘धेरैजसो विवाहत्तोर सम्बन्धसम्बन्धी हुन्छन्,’ इन्स्पेक्टर चन्द भन्छिन्, ‘श्रीमतीले यातना दिएको, सम्पत्ति लिएर गएकोजस्ता उजुरी पर्ने गरेका छन् ।’
प्रहरीका अनुसार श्रीमतीपीडितका घटनामध्ये केही वैदेशिक रोजगारीले निम्त्याएका घटना छन् । श्रीमान् विदेश जाँदा श्रीमतीको अरूसँग सम्बन्ध हुने र सम्पत्तिसमेत लिएर जाने गरेका घटना प्रहरीमा पुग्छन् ।
कतिपय घटनामा श्रीमान्बाट पीडित भएँ भनेर महिलाले उजुरी गर्ने, तर अनुसन्धान गर्दा श्रीमान् नै पीडित भएको खुल्ने गरेको इन्स्पेक्टर पूर्णिमा चन्दले बताइन् । तर, ८० प्रतिशत घटनामा श्रीमान्कै दोष हुने उनको भनाइ छ । महिलाले श्रीमान्को अन्य युवतीसँगको सम्बन्ध, मदिरा सेवन, कुटपिट, घरमा नआउनेजस्ता विषयमा उजुरी गर्ने प्रहरीले जनाएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ ।
८ माघ काठमाडौं ।
किर्तिपुरको एउटा घरमा सात घण्टादेखि एउटा चितुवा थुनामा परेको छ । बिहान पाँच बजे एकजना बृद्धलाई आक्रमण गरेर चितुवा एउटा घरभित्र पसेको थियो । जिल्ला वन कार्यालय चिडिखानका प्राविधिकले चितुवा नियन्त्रणमा दिन खोजेपनि अझै नियन्त्रणमा लिन सकिएको छैन । बिहान साढे ५ बजे बाटोमा हिडिरहेका बेला कीर्तिपुर–३ का ६५ वर्षका हिराकाजी महर्जनलाई चितुवाले आक्रमण गरेको हो । प्रहरीका अनुसार महर्जनलाई आक्रमण गरी भागेको चितुवा कीर्तिपुर–५ का धर्म महर्जनको घरमा पसेको छ । घरको ढोका खुलेको बेलामा पसेको चितुवालाई प्रहरी र स्थानीय बासिन्दाले थुने र चिडियाखानामा खबर गरे । जिल्ला वन कार्यालय काठमाडौं र सदर चिडियाखाना जावलाखेलबाट गएको टोलीले चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । घरभित्र निकै अप्ठ्यारो ठाउँमा रहेकाले नियन्त्रणमा लिन कटिनाइ भएको चिडियाखानकाका प्राविधिक राधाकृष्ण घर्तीले बताउनुभयो, यसअघि बानेश्वरमा भेटिएको चितुवा नियन्त्रणमा लिनुभएका घर्तील भन्नुभयो, ‘एकदम अप्पठ्यारो ठाउँमा बसेको छ, नियन्त्रणमा लिन अझै केही समय लाग्छ ।’ अहिले प्रहरी र प्राविधिकको टोलीले घरको माथिल्लो तला भत्काएर चितुवा नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
८ माघ, दाङ।
साथीलाई एक लिटर पेट्रोल दिँदा दाङमा मोटरसाइकल जलेर ध्वस्त भएको छ । गोबरडिया १ जुरौनीमा मोटरसाइकलबाट पेट्रोल झिकेर साथीलाई दिनेक्रममा आगलागी भएको हो । आगलागीमा लालमटिया–३ निबासी राजु केसीको एक सय ५० सिसीको होन्डा युनिकन मोटरसाइकल जलेर ध्वस्त भएको दाङका प्रहरी प्रमुख एसपी कुबेर कडायतले जानकारी दिएका छन् । चिसो छेल्न नजिकै बालेको आगोको लप्काले पेट्रोल टिपे पछि उक्त क्षेति भएको प्रहरीले बताएको छ ।
८ माघ, जनकपुरधाम।
मोरङको रङ्गेलीमा घटेको घटनालाई लिएर धनुषामा आमहडताल गरिएको छ ।संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा घोषित आमहडतालका कारण जनजीवन प्रभावित भएको छ । केही दिनदेखि सहज भएको जनजीवन आजदेखि पुनः कष्टकर भएको छ । हडतालका कारण शैक्षिक संस्थान, बजार, कलकारखाना र यातायात पनि बन्द गरिएको छ । मोर्चाका कार्यकर्ता र नेताहरु बिहानैदेखि जनकपुरका मुख्य चोकहरुमा टायर बालेर लाठी लिएर प्रदर्शन गरिरहेका छन् ।
८ माघ, काठमाडौं।
बोक्सी लागेको भन्दै फलाम तताएर नाबालकलाई डाम्ने धामी सुकवहादुर राई पक्राउ परेका छन्। झाडापखाला लागेका पाँचथर ओयाम–१ फाक्लुङमाका डेढ वर्षीय बालक दिप्सन राईलाई बोक्सी लागेको भन्दै ढुंगा र फलाम तताएर डाम्ने धामी सुकबहादुरलाई प्रहरीले पक्राऊ गरेको हो । स्थानीय झामी सुकवहादुर र तिलवहादुरले ओयाम–१ का धनवहादुर राईका छोरा दिप्सनलाई गत पुस २४ गते ढुंगा तताएर डाम्दा भएको घाउको उपचार समेत नगराइएको समाचार बाहिर आवएपछि ओयामस्थित प्रहरी चौकी चरिभञ्याङवाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सुकवहादुरलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ। यसैवीच तातो फलामले डामिएका बालकलाई उपचारका लागि पाँचथर जिल्ला अस्पतालमा लगिएको छ । पीडकलाई यातना तथा क्षतिपूर्ति र बालअधिकार ऐन अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको श्रेष्ठले बताए । तातो ढुंगा र फलामले डामिएका बालकका देव्रे तिघ्राको घाउ भएकाले केही समयसम्म डाक्टरकै निगरानीमा उपचार गर्नु पर्ने अवस्था देखिएको पाँचथर अस्पतालले जनाएको छ ।
७ माघ , काठमाडौं ।
होस्टेलमार्फत मानव तस्करी ल दीपेन्द्र विष्ट काठमाडौं– सप्तरीका सुजन रानाले रुसको राजधानी मस्कोस्थित नेपाली दलालले चलाएको होस्टेलमा एक महिना बिताए । उनले जापान जान आठ लाख रुपैयाँ तिरेका थिए । दलालले भारतको नयाँदिल्ली हुँदै उनलाई मस्कोस्थित नेपाली दूतावास नजिकको होस्टेलमा पुर्याएका हुन् । अन्य दुई जना पनि एक महिना होस्टेलको बसाइपछि जापानको नारिता विमानस्थल उत्रिए । विमानस्थलको शौचालयमा भिसालगायत कागजात च्यातेर फाले । तीनै जनाले साथमा रहेको तीन सय डलर पनि शौचालयमै फाले । त्यसपछि पुगे, विमानस्थलमा तैनाथ सुरक्षाकर्मीको शरणमा । ‘दलालले जे निर्देशन दिन्थे त्यही गर्थे,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख कृष्णबहादुर रावतसँग सुजनले भने, ‘नारिता विमानस्थलका सुरक्षाकर्मीले जेलमा राखे, हाम्रो नारकीय जीवन सुरु भयो ।’ मस्को उडाउनुअघि दलालले दिल्लीमै नेपालीले चलाएको होस्टेलमा दुई साता राखेको रावतले बताए । ‘होस्टेलको बसाइ महँगो छैन । दलालहरू आफैं होस्टेल चलाउन थालेका छन्,’ उनले भने, ‘होटेलमा शंका हुने भएकाले मानव तस्करी गर्नेहरूले नयाँ उपाय निकालेका हुन् ।’ सुजन ४३ दिन कारागार बसाइपछि उनी स्वदेश फर्केका छन् । अन्य दुई जना १८ दिनअघि नै फिर्ता भएका छन् । हरेक महिना दलालले तस्करीको रुट र विधि परिवर्तन गर्ने गरेको उनले जानकारी दिए । तीमध्येकै हो, होस्टेल आफैं चलाउने विधि । ताप्लेजुङका मदन कामी पनि दलालमार्फत मलेसिया पुगे । तीन वर्ष मलेसिया बसेका उनी करिब ११ महिना भिसाबिनै बसे । दलालले चलाएको होस्टेलमा २० दिन बिताए । त्यसपछि मलेसियास्थित नेपाली दूतावासबाट संखुवासभाको बाला गाविसका श्यामकुमार राईको नाममा भिसा बनाई नेपाल पठाए । दलालमार्फत बाँके बेतहानीका सुरेन्द्र कुर्मी पनि मलेसिया पुगे । जोदोखारु बातुपहाडस्थित होस्टेलमा उनले पनि करिब २० दिन बिताए । काम नपाएपछि दोलखा सुनखानीका राजेन्द्र खत्रीको नामको भिसा बनाएर उनलाई फिर्ता पठाइयो । ‘नोकरी नपाउन्जेल होस्टेलमै बस्नुपर्छ,’ उनले अध्यागमनलाई दिएको बयानमा उल्लेख छ, ‘काम नपाए वा बिरामी भए स्वदेश फर्काउँछन् ।’ धनुषाका दीपेन्द्र यादव दलालमार्फत मलेसिया पुगे । करिब तीन वर्षको कामदार भिसाको म्याद सकियो ।
त्यसपछि दलालद्वारा उनलाई क्वालालम्पुरस्थित होस्टेलमा राखियो । एक साताको होस्टेल बसाइपछि उनलाई धनुषाका रामचन्द्र मुखियाको नाममा फिर्ता पठाइयो । ‘होस्टेलमा कैयौं नेपालीलाई विद्यार्थीका रूपमा राखिएको छ,’ बयानमा उनले भनेका छन्, ‘होस्टेल पत्ता लगाउनै गार्हो हुन्छ ।’ अध्यागमन प्रमुख रावतले मस्को र जापान जाने ट्रान्जिट दिल्ली बनाउने गरेको बताए ।
‘त्यहाँ प्रत्येक दलालले होस्टेल चलाएका छन्,’ उनले भने, ‘केही दिनयता दलालमार्फत ठगिएर आउनेहरूले होस्टेलमा बस्ने गरेको बताइरहेका छन्, मानव तस्करको जालो कसरी गठिलो बनेको छ भन्ने यसले देखाउँछ

६ माघ,उदयपुर ।
उदयपुर – आफ्नो श्रीमतिलाई शरिरमा आगो लगाई हत्या प्रयास गर्ने एक व्यक्तिलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पूर्वी तपेश्वरी गाविस १ की नैनादेवी चौधरीलाई आगो लगाई हत्या प्रयास गरेको आरोपमा पति घनश्याम चौधरीलाई पक्राउ गरेको हो । घरयासी विवादमा श्रीमान घनश्याम चौधरीले पेट्रोल छर्किएर जलाएको अवस्थामा नैनादेवीलाई प्रहरीले उद्दार गरि उपचारार्थ अन्यत्र पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ओम रानाले बताए । पीडित महिलाको शरिरको कम्मर मुनीको भाग जलेकोले स्थानीय स्वास्थ्य संस्थामा प्राथामिक उपचार पछि थप उपचारको लागी विराटनगर पठाईएको डिएसपी रानाले जानकारी दिए । डिएसपी रानाका अनुसार आगो लगाउने श्रीमान प्रहरी चौकी भागलपुरले नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको छ । घटनामा दश हजार बराबरको माल सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
५ माघ काँकडभिट्टा ।
नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भारतले गरेको अघोषित नाकाबन्दीको असर पूरै हटेको छ।पूर्वी नाकाबाट पूर्ववत् अवस्थामै सवारी भित्रन थालेपछि अवस्था पूर्ण रुपमा सहज भएको हो । भारतको पानीट्यांकीबाट सबै खाले मालवाहक सवारी भित्रिरहेको मेची भन्सार कार्यालयले जनाएको छ । दैनिक दुई सयको हाराहारीमा सबै प्रकृतिका मालवाहक सवारी पूर्वी नाकाबाट भित्रिरहेको भन्सार प्रमुख भीमप्रसाद अधिकारीले जानकारी दिए। "नाकामा अहिले कुनै रोकतोक छैन"उनले भजे, "पूर्ण रुपमा सहज भएको छ ।" नेपाल भित्रिएका सवारीलाई भन्सार परिसरमा यार्डको व्यवस्था गरी पार्किङ गरिँदै आएको छ । "अहिले पार्किङको पनि समस्या छैन" अधिकारीले भजे, "यार्ड विस्तार गरेपछि सबै सवारी अटेका छन् ।" केही समययता पूर्वी नाका खुलेपछि जनजीवन सामान्य बन्दै गएको छ । विशेष गरी पेट्रोलियम पदार्थको अभावले दैनिकी चलाउन अप्ठ्यारो परिरहे पनि पूर्वी नाकाबाट पर्याप्त मात्रामा ट्यांकर नेपाल प्रवेश गर्न थालेपछि पेट्रोल पम्पमा तेल प्रशस्त पाइन थालेको छ । यद्यपि पूर्ण रुपमा भने सहज हुन नसकेको पेट्रोलियम व्यवसायीले बताए । धेरै दिनको नाकाबन्दीको असरले गर्दा पूर्ववत् अवस्थामा फर्किन केही समय लाग्ने व्यवसायी बनाउँछन् । पूर्व क्षेत्रका धेरैजसो पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण गरिरहेका छन् तर पनि तेल भर्न लाइन बस्नु पर्ने बाध्यता हटेको छैन । प्रशासनले पनि अवस्था सहज भएको भन्दै पेट्रोलियम पदार्थमा लागू गरेको कुपन प्रणाली बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले दुई साताअघिदेखि कुपन प्रणाली हटाएको हो । नाकाबन्दीका कारण तेल अभाव हुँदा मौज्दातमा राखिएको पेट्रोलियम पदार्थ आवश्यकता हेरेर सिफारिस दिने गरिएको थियो । अत्यावश्यक सेवालाई प्राथमिकतामा राखेर तेलको कुपन दिने गरिए पनि अहिले अवस्था सहज भएकाले कुपन प्रणाली हटाइएको प्रशासनले जनाएको छ । प्रशासनले करिब तीन महिना अत्यावश्यक सेवाका लागि पेट्रोलियम पदार्थमा कुपन प्रणाली लागू गरेको थियो । त्यसबेला प्रशासनले दैनिक दुईदेखि चार हजार लि तेलको सिफारिस दिने गरेको थियो । आवश्यकता हेरेर पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रशासनले पम्पलाई सिफारिस गर्ने गरेको थियो ।
५ माघ, काठमाडौं ।
काम विशेषले घरबाट बाहिर निस्किँदै हुनुहुन्छ ? त्यसोभए छाता वा रेनकोट बोक्न नबिर्सनुस् । किनकि आज देशका अधिकांश स्थानमा हिमपातसहित वर्षा हुने प्रबल सम्भावना छ । हुस्सु मौसमविद समिर श्रेष्ठका अनुसार मध्य भारतमा विकसित भएको मौसमी प्रणालीको प्रभावका कारण अहिले नेपालको मौसममा बदली भएको छ । मौसम बदलीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडान-अवतरण पनि रोकिएको छ । भिजिबिलिटी कम भएकाले अहिले साना-ठूला सबै प्लेनको उडान-अवतरण हुन सकेको छैन । साना प्लेनका लागि न्यूनतम १५ सय मिटर र ठूला जहाजका लागि न्यूनतम ३ हजार मिटर भिजिबिलिटी चाहिन्छ ।‘विहान साढे ९ बजे अघिसम्म भिजिबिलिटी २ हजार मिटर थियो तर अहिले घट्दै गएर १ हजारमा झरेको छ,’ मौसमविद समिर श्रेष्ठले अनलाइनखबरसँग भने, ‘त्रिभुवन विमानस्थलमा हुस्सु लागेकाले कुनै पनि उडान अवतरण हुन सकेको छैन ।’श्रेष्ठका अनुसार मध्यान्ह १२ बजेदेखि मौसममा सुधार आउने र उडान-अवतरण सुचारु हुने अनुमान गरिएको छ ।अरब सागरबाट आएको हावा र बंगालको खाडीबाट आएको हावा मध्य भारतमा मिसिएर उत्तरपूर्वतर्फ सर्दै गएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो ।‘मध्य भारतमा विकसित भएको मौसमी प्रणालीका कारण र पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको छ,’ मौसमविद श्रेष्ठले भने, ‘त्यसैको प्रभावले पूर्वी पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हिमपातसहित पानी पर्ने सम्भावना अत्यधिक छ ।’पश्चिमी क्षेत्रमा पनि पानी पर्ने सम्भावना प्रबल छ । काठमाडौं उपत्यकामा भने साँझपख हल्का पानी पर्नसक्ने सम्भावना रहेको श्रेष्ठले बताए । काठमाडौं उपत्यकाको आकाशमा अहिले बादल लागेको छ र अघिल्लो दिनको तुलनामा जाडो बढेको छ । ‘सोमबार अधिकतम २० डिग्री सेल्सियस थियो भने आज आधाले घटेको छ,’ मौसमविद श्रेष्ठले भने, ‘त्यसैले आज जाडो महसुस भएको छ ।’यस्तो अवस्था बुधबारसम्म पनि जारी रहने मौसमविद श्रेष्ठले बताए । बुधबार बेलुकादेखि भने पश्चिमतर्फबाट मौसममा सुधार हुँदै जाने मौसमविदको पूर्वानुमान छ ।
५ माघ, काठमाडौं .
सिन्धुलीकी एक १७ वर्षीया युवती उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आइन्। जागिर खाँदै अध्ययन गर्ने उनको लक्ष्य थियो। कतै काम नपाएपछि कलेजका साथीसँगै ठमेलका मसाज सेन्टर जान थालिन् । राम्रो ठानेर छिरेको त्यही रोजगारले अहिले ती युवतीलाई प्रहरी फन्दामा पुर्याएको छ । सोह्रखुट्टे प्रहरीले केही दिनअघि ठमेलका मसाज पार्लरमा छापा मार्दा उनी पक्राउ परेकी हुन्। मसाजका नाममा अनैतिक क्रियाकलाप हुन थालेको भन्दै ठमेलका मसाज र स्पा सेन्टरमा अप्रेसन सुरु गरेको प्रहरीले जनाएको छ ।‘मसाजका नाममा विकृति भयो,’ काठमाडौं प्रहरीका एसएसपी विक्रमसिंह थापाले बताए, ‘अनैतिक क्रियाकलाप हुन थालेपछि हामीले अप्रेसन सुरु गरेका हौं।’ प्रहरीले नागरिक मञ्च, ठमेल पर्यटन विकास परिषद लगायत संघ–संस्थाको सहयोगमा ठमेलका मसाज र स्पा सेन्टरमा अनुगमन गरेको थियो। अनुगमनपछि १५ मसाज सेन्टर बन्द गराइएको छ। सञ्चालक र त्यहाँ कार्यरत ९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। एभरेस्ट होटल तथा मसाज सेन्टरका सञ्चालक हरिकृष्ण शाहीमाथि भने मानव बेचबिखनकै मुद्दा चलाइएको एसएसपी थापाले बताए।
ठमेलमा ६४ मसाज सेन्टर छन्। त्यहाँ कम्तिमा ४ सय कर्मचारी रहेको प्रहरीको अनुमान छ। कर्मचारीलाई कम्तिमा ४ हजारदेखि १५ हजारसम्म तलब दिइने गरेको अनुगमनका क्रममा भेटिएको थियो। कतिले त ग्राहकको संख्याअनुसार प्रतिशतका आधारमा पनि दिइएको पाइयो। काठमाडौं प्रहरीका प्रवक्ता एसपी विश्वराज पोखरेल आचारसंहिताभन्दा बाहिर गएर सञ्चालन भएका मसाज र स्पा सेन्टरका कारण नियमसंगत व्यवसाय गर्नेहरू पनि बद्नाम भइरहेको बताउँछन्।
मसाज र स्पाको आचारसंहितामा के छ?
१) व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न नेपाल मसाज व्यवसायी संघ, ठमेल पर्यटन विकास परिषद तथा वडा कार्यालयहरूसँग समन्वय गरी नीति तथा निर्देशन परिपत्र लागू गर्न गराउन पहल गर्नेछ ।
२) कानुनबमोजिम इजाजत पत्र प्राप्त गरी व्यवसाय गर्नुपर्नेछ ।
३) मसाज व्यवसायीले व्यवसायको दर्ता प्रमाणपत्र व्यवसाय सञ्चालनमा रहेको कक्षमा सबैले देख्ने गरी राख्नुपर्नेछ।
४) व्यवसाय सञ्चालन गर्दा छरछिमेक र सर्वसाधारणमा कुनै प्रकारको नकारात्मक असर पर्ने क्रियाकलाप गर्न गराउन पाइने छैन।
५) कामदारले आफूले प्राप्त गरेको तालिम र अनुभवअनुसार प्रभावकारी सेवा प्रदान गर्नुपर्नेछ।
६) व्यवसाय कक्षभित्र दिन सकिने सेवा बाहेकका अन्य सेवाको मूल्यसूची विवरण उल्लेख गर्न पाइने छैन।
७) सेवाग्राहीलाई मदिरा सेवन गरी प्रवेश तथा जुवातास निषेधा गर्ने र त्यसको जानकारीका लागि सूचना टाँस्ने व्यवस्था गर्नुपर्नेछ।
८) मसाज गर्दा सम्पूर्ण नीति–नियम पालना गर्नुपर्ने र सम्बन्धित काममा दक्ष हुनुपर्ने।
९) मसाज सञ्चालन कक्षभित्र कोठाको ढोका खुला हुनुपर्ने, पर्दा र बेडकभर सेतो हुनुपर्ने, कर्मचारीले लगाउने पोसाकको हकमा सर्ट–पाइन्ट पुरुषले र महिलाले सर्ट–पाइन्ट वा पाइजामाका साथै एप्रोन अनिवार्य लगाउनुपर्नेछ र मसाज कक्ष पारदर्शी हुनुपर्नेछ।
१०) प्रचलित कानुनको दायराभित्र रही कामदार, कर्मचारीको योग्यता र क्षमताअनुसारको व्यवसाय र पेसाकर्मीबीच सम्झौताबमोजिम मासिक पारिश्रमिक व्यवस्था गर्नुपर्नेछ।
११) निरीक्षण क्रममा आचारसंहिता विपरीत गरेको पाइए तत्काल कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न सकिनेछ।
१२) स्पा तथा मसाज पार्लरमा सञ्चालन समयभित्र जुनसुकै समयमा निरीक्षण र अनुगमन गर्न सकिनेछ।
१३) उमेरको हकमा पुरुष तथा महिला दुवैको उमेर १८ वर्ष पुगेको हुनुपर्नेछ।
१४) आचारसंहितामा लागू गरिएको सम्पूर्ण नियम कानुन पालना गर्नुपर्नेछ। नगरे व्यवसायी आफैं कानुनी कारबाहीको भागीदार हुनुपर्नेछ।
१५) स्पा तथा मसाज सञ्चालन गर्ने समय बिहान १० देखि बेलुकी ८ बजेसम्म तोकिएको छ।
५ माघ,विराटनगर ।
अवैध यौनधन्दामा संलग्न गेस्ट हाउस सञ्चालकसहित तीन जनालाई प्रहरीले विराटनगर– १४ को हिमाञ्चल गेस्ट हाउसबाट पक्राउ गरेको छ । सोमबार साँझ वडा प्रहरी कार्यालयले गेस्ट हाउस सञ्चालक झापाको सुरुङ्गाकी ३८ वर्षीया गीता पाठकसहित तीन जनालाई पक्राउ गरेको हो । गेस्ट हाउसमा अवैध क्रियाकलाप हुने गरेको सूचनाका आधारमा चेक गर्न पुगेको प्रहरी टोलीलाई गेस्ट हाउसमा कोही पनि नभएको भन्दै सञ्चालक पाठकले खाली ‘लगसिट’ देखाएका थिए । प्रहरीले उनको भनाइमा सत्यता नभएको भन्दै चेक गर्दा एक जोडीलाई रङ्गेहात फेला पारेको थियो । पक्राउ गरिएका तीन जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए।
५,माघ, रुपन्देही ।
रुपन्देहीको सालझण्डीमा कारको ठक्करबाट एक जनाको ज्यान गएको छ । सालझण्डी–४ फायरलाइनमा बा १२ च ६० नम्बरको कारले ठक्कर दिँदा एक जना पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।
साइलकमा सवार ती व्यक्तिलाई कारले ठक्कर दिएको हो । ज्यान जाने पुरुषको परिचय नखुलेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
५ माघ काठमाडौं ।
नेपाल आयल निगमसँग सवा दुई करोड लिटर इन्धन मौज्दात रहेको छ । थानकोट डिपो भरिएर ट्यांकरले खन्याउन पाएका छैनन, तर निगम तेल साँचेर बसेको छ । भारतीय नाकाबन्दीअघि (भदौ मसान्तमा) नेपाल आयल निगमको देशभर रहेको डिपोमा करिब एक करोड ९० लाख लिटर (१९ हजार किलोलिटर) इन्धन थियो । देशभरका नौ डिपोमा अहिले दुई करोड १८ लाख २६ हजार लिटर इन्धन मौज्दात छ । डिजेल एक करोड २४ लाख ९९ हजार लिटर र पेट्रोल ३५ लाख ९२ हजार लिटर छ । निगमले इन्धन वितरणमा नियन्त्रण गरेपछि मौज्दात बढेको हो । निगमसँग् धेरै परिमाणमा इन्धन भए पनि वितरण बढाएको छैन । निगमले नाकाबन्दीयता तीनपटक निजी सवारीलाई इन्धन दिएको छ । त्यस्तै, ११ मंसिरदेखि अत्यावश्यक सेवाका सवारी साधनलाई कोटा तोकेर इन्धन वितरण हुँदै आएको छ । नयाँ पत्रिकामा खबर छ ।
५ काठमाडौं ।
काठमाडौंको जोरपाटीस्थित बेसिगाउँमा रहेको बि एन्ड जी पेट्रोल पम्पको पार्किङमा आगलागी भएको छ। राती ११ बजे आगलागी हुदाँ ४ वटा माइक्रो पूर्ण रुपमा जलेको छ । २ वटा माइक्रो र १ वटा बोलेरो आशिंक रुपमा क्षति पुगेको छ।
बा १ झ ६६११, ९५०४, ९२२९ र ९८६५ नम्बरको माइक्रो जलेर खरानी भएको छ। ती सबै गाडी तेल हाल्न लाइनमा थिए। प्रहरी, स्थानीय, ३ वटा दमकल र पानी बोक्ने ट्यांकरको सहयोगमा आगो पौने १२ बजे नियन्त्रणमा आएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी विश्वराज पोखरेलले जानकारी दिए। पोखरेलले आगलागीबारे थप अनुसन्धान भइरहेको बताए ।
'पेट्रोल पम्प जोगाउन प्रहरीलाई निकै मुस्किल पर्यो, बौद्ध प्रहरी वृतका डिएसपी नरहरी रेग्मीले भने 'पम्पमा आगोले मात्र भेटेको भए ठूलो क्षति हुन्थ्यो
४,माघ काठमाडौँ ।
नेपाल आयल निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले पेट्रोलमा पाँच र डिजेल–मट्टितेलमा ६–६ रुपैयाँ घटेको निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । मूल्य घटेसँगै पेट्रोल प्रतिलिटर ९९ रुपैयाँ र डिजेल–मट्टितेल ७५–७५ रुपैयाँ कायम भएको छ । एलपीजी ग्यासमा भने अझै २४२ रुपैयाँ प्रतिसिलिण्डर घाटा नै रहेकाले मूल्य यथावत राखिएको घिमिरेले बताए ।
४ माघ काठमाडौं ।
चितवनको पश्चिममा पर्ने नारायणी नगरपालिका-३ पर्साढापमा मुस्लिम र बुद्धिष्ट समूदाय हिन्दुहरुसँग मिलेर 'माँ दुर्गा भवानी' को मन्दिर निर्माण गरेका छन् । ईलाका प्रहरी कार्यालय पर्साढापको परिसरमा दुर्गा भवानीको मन्दिर निर्माण गरिएको हो । ४ महिना अघि उक्त स्थानमा दुर्गा भवानीको मन्दिर बनाउने प्रस्ताव ई.प्र.का पर्साढापका प्रमुख सई -प्रहरी नायब निरिक्षक महम्मद लतिफ अन्सारीले गरेका थिए । मुस्लिम प्रहरी अधिकृत अन्सारीले मन्दिर निर्माण गर्न प्रस्ताव ल्याएपछि स्थानीय बासिन्दा सुरुमा आश्चर्यमा परेका थिए । 'मुस्लिम समुदायका व्यक्तिले मन्दिर बनाउँछन भनेमा विश्वास नै लागेको थिएन,' स्थानीय टिका अधिकारीले भनिन, 'हिन्दु-मुस्लिमको धर्म नै मिल्दैन ।'
३ माघ, भीमदत्तनगर ।
कञ्चनपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी तथा लुटपाट गर्दै आएका एक पूर्व प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले काठमाडौँबाट नियन्त्रणमा लिइएको छ।भीमदत्तनगरपालिका क्षेत्रमा पटकपटक मोटरसाइकल चोरी र बेल्डाँडी सडक खण्डमा लुटपाट गर्दै आएका कञ्चनपुरको झलारीपिपलडी नगरपालिका–५ का २२ वर्षीय रविन्द्र साउदलाई काठमाडौँको बागबजारबाट नियन्त्रणमा लिई शनिबार यहाँ ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले जानकारी दिए ।गत साउनमा पूर्व प्रहरी जवान साउदले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी मार्ने प्रयास गरेपछि उनी जागरिबाट निलम्बित भएका थिए । पक्राउ परेका साउदलाई जिल्ला अदालत कञ्चनपुरमार्फत आइतबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
३ माघ , काठमाडौं ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई काठमाडौं ओर्लिनासाथ कालो झण्डा देखाइएको छ । महतो काठमाडौं ओर्लिनासाथ उनी विरुद्ध चर्का लगाउँदै युवा संघ नेपालका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । महतो विमानस्थलबाट निस्किने समयमा “राष्ट्र विखण्डनकारी मुर्दाबाद”, “विदेशी दलाल होसियार”, देश टुक्राउन पाइँदैन’ जस्ता नारा लगाइएको थियो । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै कालो झण्डा देखाउने तयारीका साथ युवा संघका कार्यकर्ताहरु बसेका थिए । मधेसको माग पूरा नभएसम्म काठमाडौं नफर्किने अडान लिएका भएपनि लाचार भएर काठमाडौं ओर्लिन लागेका महतोले आउनासाथ आफ्नो स्वास्थ्य अवस्था र मधेश आन्दोलनको आगामी कार्यक्रमबारे पत्रकार सम्मेलन गरेर जानकारी दिने सदभावना महासचिव मनिष कुमार सुमनले जानकारी दिएका छन् । काठमाडौं आए लगत्तै महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट गर्ने छन् । महतो र ओलीबीच साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने कार्यक्रम तय भैसकेको छ।