१० ट्रक दाउरा काठमाडौं भित्रियो, भोलिदेखि बिक्री सुरु

कार्तिक २६, २०७२- सर्वसाधारणलाई बाँड्ने १० ट्रक दाउरा काठमाडौं भित्रिएको छ । वनमन्त्री अग्निप्रसाद सापकोटाको निर्देशनपछि टिम्बर कर्पोरेशन अफ नेपाल (टिसिएन) ले बिहीबार बिहानसम्म १० ट्रक दाउरा काठमाडौं भित्र्याएको हो ।


‘पहिलो लटको काठ शुक्रबारदेखि बिक्री सुरु गर्छौ,' टिसिएनका महाप्रबन्धक वीरेन्द्र यादवले ईकान्तिपुरलाई भने, ‘बालकुमारी र गौशालाबाट सर्वसाधारणले दाउरा किन्न सक्नेछन् ।’ दाउराको मूल्य भने निर्धारण भइसकेको छैन ।

भारतको नाकाबन्दीपछि उपत्यकासहित देशभरका सर्वसाधारण इन्धन अभावको मारमा परेपछि वनमन्त्री सापकोटाले मंगलबार सर्वसाधारणलाई दाउरा बाँड्ने निर्णय गरेका थिए । पहिलो चरणमा तीन सय चट्टा (करिब सवा दुई सय ट्रक) दाउरा काठमाडौं ल्याउने व्यवस्था मिलाउन मन्त्री सापकोटाले निर्देशन दिएका थिए ।

महाप्रबन्धक यादवका अनुसार बाराको निजगढलगायतका क्षेत्रबाट पहिलो लटका दाउरा ल्याइएको हो । ‘छिट्टै नवलपरासीबाट पनि दाउरा भित्रिँदैछ,' यादवले भने, ‘जतिसक्दो चाँडो दाउरा ल्याएर सर्वसाधारणलाई बिक्री गरिनेछ ।’



,

0 comments

Write Down Your Responses