रुपन्देहीको देवदहमा बस दुर्घटना-एक संयुक्त राष्ट्र कमर्चारीको मृत्यु, आठ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजना यात्रुको मृत्यु भएकोे छ। दुर्घटनामा परी ८ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रहरीका अनुसार धनगढीबाट काठमाडौँ जांदै गरेको ना.४ ख २५१५ नं. को रात्रिबस देवदह ८ शितलनगरमा सडकमा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।

मृतकको साथमा रहेको परिचयपत्रको आधारमा मृतक संयुक्त राष्ट्र संघमा कार्यरत रेणु शाक्य रहेको प्रहरीले जनाएको छ। मृतकको ठेगाना भने खुल्न सकेको छैन।
राति करिब पौने तीन बजेतिर भएको उक्त दुर्घटनापछि बस सडकबाट बायाँतर्फ पल्टिएको प्रहरीले जनाएको छ।

कुनै साधन वा वस्तु केहीसँग पनि ठक्कर नखाएको अवस्थामा भएको दुर्घटनाको आधारमा चालक निदाएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। यद्यपि प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

0 comments

Write Down Your Responses