अब 'प्राकृतिक प्रकोप पहिचान' कम्प्युटरबाटै ।
७ माघ , काठमाडौं ।
अब 'प्राकृतिक प्रकोप पहिचान' कम्प्युटरबाटै काठमाडौं: अब जुनसुकै गाउँको जोकोहीको घर प्राकृतिक प्रकोपमा परेमा उसको पहिचान गर्न सम्बन्धित गाउँमा पुगिराख्नु पर्दैन।
इन्टरनेटको पहुँच भएको कम्प्युटरबाट प्राकृतिक प्रकोपमा परेको घरपरिवारका सदस्यहरूको आर्थिक, सामाजिक र व्यक्तिगत विवरण थाहा पाउन सकिने प्रविधिको विकास भएको छ।नेपालमा पहिलोपटक परीक्षणका रूपमा थालिएको डाटाबेस सफल भएमा यसलाई मुलुकभर विस्तार गर्न सकिने विश्वास सम्बद्ध अधिकारीहरूले लिएका छन्। भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण अभियान सञ्चालन गर्नुअघि दाताहरूको सर्तअनुसार थालिएको सर्वेक्षणपछि त्यस्तो अवस्था आउने तथ्यांक विभागका निर्देशक ढुण्डिराज लामिछानेले बताए।दोलखाबाट सञ्चालन गरिएको सर्वेक्षण वैशाख १२ गतेसम्म भूकम्पबाट अति प्रभावित १४ जिल्लामा पूरा गर्ने लक्ष्यका साथ कार्ययोजना बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।
'अब हुने प्राकृतिक प्रकोपलाई तत्काल सम्बोधन गर्न सकिने गरी तथ्यांक संकलन गरिएको छ। कुन गाउँको कुन घर पहिरोले पुर्यो भन्ने कुरा गुगल म्यापबाट तत्कालै हेर्न सकिने बनाइँदैछ', तथ्यांक विभागका निर्देशक लामिछानेले भने, ‘इलेक्ट्रोनिक्स डाटाबेस तयार गर्दैछौं।'
लामिछानेका अनुसार सर्वेक्षणमा संलग्न इन्जिनियर र सामाजिक परिचालक परिचालन गरेर गाउँगाउँमा थालिएको सर्वेक्षणलाई इन्टरनेटको पहुँच भएको ठाउँमा पुग्नेबित्तिकै अपलोड गरिन्छ। 'अपलोड भएपछि कुन गाउँको कुन घरको अवस्था र परिवारका सदस्यहरूको व्यक्तिगत विवरण केन्द्रको सर्भरमा आउँछ।
कुन घर इन्ट्री भयो भन्ने कुरा हेर्न मिल्छ' लामिछानेले भने, 'भूकम्पका कारण कस्ता घर भत्किए, क्षतिको स्तर कस्तो छ, डेरामा बस्नेको अवस्था के छ, स्थायी बसोबास हो कि अस्थायी बसोबास हो, सामाजिक र आर्थिक अवस्था कस्तो छ।'
दोलखामा खटिइएका तथ्यांक विभागका अधिकृत दिनानाथ लम्सालका अनुसार सर्वेक्षणले सामाजिक सुरक्षाका अभियान सञ्चालन गर्न पनि सहयोग पुग्नेछ। 'कुन परिवारमा कुन उमेर समूहका कस्तो पृष्ठभूमिका मानिस छन् भन्ने विवरण केन्द्रबाटै थाहा पाउन सकिन्छ', लम्सालले भने।
सर्भरमा हुने रेकर्डका आधारमा प्राकृतिक प्रकोप हुँदा सुरक्षाकर्मी परिचालनका लागि पनि सहयोग पुग्ने अधिकारीहरूको विश्वास छ। सर्वेक्षणका लागि प्राधिकरणले करिब तीन हजार इन्जिनियरलाई तालिम दिएर गाउँगाउँमा परिचालन गर्दैछ।

0 comments
Write Down Your Responses