‘भवन पुनर्निर्माणका लागि इँटा अभाव हुने सम्भावना बढ्यो । ।

भूकम्पका कारण क्षतिग्रस्त भएका सरकारी र निजी घर तथा भवन पुनर्निर्माण गर्न आवश्यक पर्ने इँटाको अभाव हुन सक्ने व्यवसायीहरुले बताएका छन्। इँटा उद्योगीहरुले भूकम्प र इन्धन अभावका कारण आर्थिक समस्या झेलिरहेकाले हालकै अवस्थामा चाहिने संख्यामा इँटा उत्पादन गर्न नसकिने बताएका छन्। उनीहरुले हाल कायम रहेको उत्पादन वढाउन सरकारसंग लगानी र सहज नीतिको माग गरेका छन्। सरकारी तथ्यांकअनुसार भूकम्पका कारण सरकारी र निजी गरी साढे ९ लाखभन्दा बढी घर तथा भवन भत्किएका छन्। भूकम्पकै कारण देशभर रहेको साढे ८ सय इँटा उद्योगमध्ये झण्डै ३५० चिम्नी भट्टामा पूर्णरुपमा क्षति पुगेको थियो। जेनतेन मर्मतपछि इँटा उत्पादन थालेका उद्योगीहरु इन्धन अभावका कारण थप समस्या झेलिरहेको बताउँछन्। जसका कारण इँटा उत्पादन ८० प्रतिशतले घटेको उनीहरुको भनाई छ। तर माघ २ गतेदेखि थालिने भनिएको पुनर्निर्माण कार्यका लागि आवश्यक पर्ने इँटा उत्पादन गर्ने जिम्मेवारी समेत उनीहरुकै काँधमा आएको छ। सरकारले पुनर्निर्माण कार्यका लागि १२ अर्बभन्दा बढी इँटा लाग्ने अनुमान गरेको छ।जुन संख्यामा इँटा उत्पादन गर्न सक्ने अवस्थामा उद्योगीहरु नरहेको नेपाल इँटा उद्योग व्यवसायी  संघ अध्यक्ष महेन्द्रबहादुर चित्रकार बताउँछन्। उनले भने, “इँटा उद्योगीहरुसँग पैसा छैन, ऋण लिन जाने हो भने पनि समय नाघिसकेका उद्योगीहरु धेरै भइसकेका छन्, अरु ठाँउबाट लिने हो भने ब्याजजदर बढ्ने भयो।”


0 comments

Write Down Your Responses