ताजा अपडेट - अब "कतार" जान मिर्गौला पनि परिक्षण गरिने ।
५ माघ, काठमाडौं ।
वैदेशिक रोजगारका लागि कतार जाने कामदारले अब मिर्गौला परीक्षणसमेत गराउनुपर्ने भएको छ । कतारका उच्च स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै दोहा न्युजले जनाए अनुसार कतार पुगेका कामदारको मिर्गौलामा समस्या देखिए स्वदेश फिर्ता गरिनेछ । कतार मेडिकल कमिसन डिपार्टमेन्टका निर्देशक इब्राहिम अल–शारले ‘किड्नी फङसन टेस्ट’ रगत वा पिसाबको माध्यमबाट गरिने जनाएका हुन् । हमाद जनरल हस्पिटलका विज्ञहरूले मेडिकल कमिसनलाई विदेशबाट आउने कामदारमा मिर्गौला फेल र डायलासिस गराउनेको संख्यामा वृद्धि भएको जनाएपछि यो थप परीक्षण सुरु भएको इब्राहिमले जनाएका छन् । उनले आगामी दिनमा चिकित्सा जाँच प्रक्रियामा हेपाटाइटिस ‘सी’ र क्षयरोगको परीक्षणसमेत थपिने जनाएका छन् । हाल कामदारहरूमा एचआईभी/एड्स, क्षयरोग, हेपाटाइटिस ‘बी’ र ‘सी’ परीक्षण, छातीको एक्स–रेलगायत गरिन्छ । कामदारकै मुलुकमा परीक्षण गरिए पनि पुन: कतारमा परीक्षण गरिन्छ । तर, श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले मिर्गौला परीक्षण गर्नेबारे हालसम्म सूचना नआएको बताए । मन्त्रालयका अनुसार कतारमा हाल करिब ५ लाख नेपाली कामदार कार्यरत छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेका अनुसार मुलुकमा गरिने स्वास्थ्य परीक्षणको शंकास्पद गुणस्तरले कतार लगायतका खाडी मुलुकबाट ‘मेडिकल अनफिट’ भएर फर्कनेको संख्या करिब ४० प्रतिशत रहेको बताए ।

0 comments
Write Down Your Responses