दुई दर्जनभन्दा बढी शीर्ष वार्ता किन असफल ?
८ माघ, काठमाडौं।
दुई दर्जनभन्दा बढी शीर्ष वार्ता, आधा दर्जनभन्दा बढी कार्यदल र वार्ता टोलीस्तरीय बैठक हुँदासम्म मधेस आन्दोलन टुंगोमा पुग्न सकेन । बिहीबार मोरङमा मारिएका तीन समेतलाई जोड्ने हो भने साउन ३१ यता जारी आन्दोलन क्रममा नागरिक र सुरक्षाकर्मी गरी ५९ को ज्यान गइसक्यो । घाइते, अंगभंगको अझै यकिन हुन सकेको छैन । संविधान जारी भएलगत्तै मधेसी मोर्चाको आह्वान र भारतीय नाकाबन्दीले सिंगो देश नै उठ्नै नसक्ने गरी थला परेको छ ।यसबीचमा असोज ३ गते संविधान जारी भयो । असोज २४ गते ओली नेतृत्वमा नयाँ सरकार गठन भयो । उनी अघि सुशील कोइरालाले थालेको वार्ता शृंखला र संविधान संशोधन प्रक्रिया अझै जारी छन् । शनिबार संविधान संशोधन विधयेक पारित गर्ने संसद्को तयारी छ । मधेसी मोर्चासँग वार्ता भने कहिले सफल हुने हो, अझै टुंगो छैन । मधेसी मोर्चासँग कार्यदलस्तरमा असफल वार्तापछि बिहीबार बालुवाटारमा बसेका शीर्ष वार्ता पनि सहति जुटाउन असफल रह्यो । प्रधानमन्त्री केपी ओलीले मधेसमा दुई प्रदेश हुने गरी सीमांकन पुनरावलोकन तथा परिमार्जन हुने गरी प्रस्तावित राजनीतिक संयन्त्रको कार्यविधि लेखिनुपर्ने मोर्चाको माग ठाडै अस्वीकार गरे । साथै तीन दिनअघि कांग्रेस नेता तथा कार्यदल सदस्य महेश आचार्यको मोर्चा मागलाई बुझ्नेबारे तीन ठूला दलबीच अलगअलग पोजिसन रहेको भनाइ पुष्टि गर्दै ओलीले यो पनि भने, ‘संविधान संशोधन प्रस्ताव संसद्मा राख्दा हामी पनि कांग्रेससँगै सरकारमै थियौं । तर, हामीलाई कुनै जानकारी नदिई त्यो प्रस्ताव ल्याइयो ।’ सहमतिनिकट पुगिएको भनिएको तीन दल मोर्चा संवाद सिलसिला अवरुद्द भएपछि मोर्चाले कार्यदल स्तरमा अब वार्ता हुन नसक्ने घोषणा गरेको छ । सीमांकन थाती राखेर उधारो सहमति गर्न आफूहरु तयार हुँदा समेत तीन दल सहमति गर्न तयार नभएको मोर्चा नेताहरुको आक्रोस छ । तर, तीन दल भने मोर्चाले मधेसमा दुई प्रदेश असम्भव माग दोहोर्याइरहेको तर्क गर्छन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 comments
Write Down Your Responses