ताजा अपडेट - मोर्चाको प्रस्ताव ३ दल ले नमान्दा बार्ता आज पनि असफल ।

४ माघ,काठमाडौं ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेशका जिल्लामा दुई प्रदेश बनाउने गरी सम्झौता गर्न राखेको लिखित प्रस्ताव प्रमुख तीन दलका शीर्ष नेताले अस्वीकार गर्दा बार्ता आज पनि सफल हुन सकेन । प्रमुख तीन दलका शीर्ष नेताले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चाको कार्यदलका नेताहरूसँगको बैठकमा सीमांकन हेरफेरका लागि राजनीतिक संयन्त्र बनाउने भनिएको अवस्थामा अहिले नै मधेशमा दुई प्रदेश बनाउने गरी सम्झौता गर्न नसकिने बताएका हुन्। मोर्चाको कार्यदलले प्रमुख तीन दलको कार्यदलमा आइतबार नै सम्झौताका लागि लिखित प्रस्ताव पेश गरेको थियो । मोर्चाको कार्यदलले सम्झौताको लिखित प्रस्ताव पेश गर्नुलाई सम्झौताका लागि तत्परता देखाएको रुपमा लिइ तीन दलका शिर्ष नेताले प्रदेशको संख्या कति हुन्छ भनेर अहिले नै किटान गर्नु उपयुक्त नहुने बताएका छन् । तीन दलका शीर्ष नेताले यस विषयमा मोर्चाको कार्यदलसँग थप छलफल गरेर सहमति जुटाउन निर्देशन दिएका छन्।  यस्तै संसद्मा पेश भएको संविधान संशोधन विधेयकलाई हुबहु पारित गर्ने या काँग्रेसका सांसद्को संशोधन प्रस्ताव अनुसार पास गर्ने भन्ने विषयमा पनि प्रमुख दलबीच सहमति जुट्न सकेन । सत्तारुढ नेकपा एमाले र एकीकृत नेकपा माओवादीले संविधान कुन रुपमा पारित गर्ने भनेर धारणा मागेपछि काँग्रेसले मंगलबार विहान संसदीय दलको बैठकमा छलफल गरेर जवाफ दिने बताएको छ। व्यवस्थापिका संसद्को बैठक मंगलबार अपरान्ह १ बजे बोलाइएको छ। प्रमुख तीन दलका शिर्ष नेताहरुले संसद् बैठक बस्नु पहिले मधेशी मोर्चाको कार्यदलको लिखित प्रस्तावमा सहमति जुटाउन आफ्नो कार्यदलका सदस्यहरुलाई निर्देशन दिएका छन्। शिर्ष नेताको निर्देशन लगत्तै दुवै पक्षको कार्यदल बैठकमा व्यस्त छ ।


0 comments

Write Down Your Responses