महतोले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेट गरे ।

२, माघ काठमाडौं । 
सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेट गरेका छन् । शनिबार अपरान्ह राष्ट्रपति भवनमा भएको भेटवार्तामा आफूले नेपालमा बिद्यमान राजनीतिक स्थिति, संविधानमा रहेको विवाद र मधेशमा जारी आन्दोलनबारे राष्टपति मुखर्जीलाई अवगत गराएको नेता महतोले बताए । 'झण्डै चार महिनादेखि मधेशमा जारी शान्तीपूर्ण संघर्ष र मधेशी, जनाजाती समुदायको असन्तुष्टीबारे रष्टपतिलाई जानकारी गराएँ,' महतोले भने । राष्टपतिसँग नेपाल–भारत निकट सम्बन्धको चर्चा गर्दै नेपालमा शान्ति, स्थिरता र प्रगतीका पक्षमा रहेको भारतको सधैंको धारणाबारे कुराकानी भएको उनले बताए ।आधा घण्टा लामो भेटवार्ताका निम्ति नेता महतो एक्लै राष्टपति भवन गएका थिए । महतोले मधेस समस्या समाधान र मधेसी मोर्चाको माग सम्बोधन गर्ने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई फोनमा जनाएको प्रतिबद्धता अनुसार अब वार्तामा सहभागी भएर अघि बढ्ने बताए । 'दिल्लीमा मेरो स्वास्थ्य उपचार पनि सफल भयो र, राजनीतिक भेटघाट तथा संवाद पनि सफल रह्यो,' उनले भने । उपचार क्रममा तीन साताअघि दिल्ली आएका महतोले गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, कांग्रेस उपाध्यक्ष राहुल गान्धी, कांग्रेस नेताहरु करण सिंह, सलमान खुर्सिदलगायतसाग भेटघाट गरेका थिए । उनी आइतबार दिउँसो काठमाडौं फर्किदै छन । 



0 comments

Write Down Your Responses